टोखामा आज बिस्का जात्रा मनाइँदै, पालिकाभर सार्वजनिक बिदा
काठमाडौं । टोखामा आज(सोमवार) बिस्का जात्रा धुमधामका साथ मनाइँदैछ । टोखाको बिस्का जात्रालाई काठमाडौं उपत्यकाकै सबैभन्दा पुरानो मानिन्छ ।
जात्रा मनाउन टोखा नगरपालिकाले पालिकाभर सोमवारका लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । भक्तपुरमा झै बिस्का जात्रा काठमाडौंको प्राचीन वस्ती टोखामा पनि अपूर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । टोखा बिस्का नखः भनिने गरिएको बिस्का जात्रा टोखामा हरेक नयाँ बर्षको बैशाख १ गतेदेखि ४ गतेसम्म धुमधामका साथ मनाउने गरिन्छ ।
भोट अर्थात तिब्बतसंगको महत्वपूर्ण व्यापारिक केन्द्र मानिएको टोखा चाकुका लागि प्रख्यात शहर हो । भक्तपुरको झै पुरानाको मानिएको टोखाको बिस्का जात्रामा पनि काठमाडौं उपत्यकासहित बिभिन्न स्थानबाट जात्राप्रेमीहरु पुग्ने गरेका छन् ।
विशेषत उपत्यकाका काठ क्षेत्रका वासिन्दा पनि टोखाको बिस्का जात्रामा चार दिन नै सहभागी भएर हर्षपूर्वक मनाउने गर्छन् ।ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्राका कारण टोखामा नयाँ बर्षका सुरुका दिनहरुमा लाखौ मानिसहरु पुग्ने गरेका छन् ।
सपनतीर्थ, चण्डेश्वरी मन्दिर, भुतखेलको आकर्षणसहित टोखाको बिस्का जात्राको महत्व पनि आफैमा पृथक रहदै आएको छ । अझ दक्ष प्रजापतिले यज्ञ गरेको स्थानकोरुपमा पनि टोखाको परिचय झल्काउने गरिएको छ ।
सपनतीर्थ मेलासंग जोडिने गरेको टोखाकोविस्केट जात्रा घोडेजात्रा अघि लिङ्गो गाढे पछि प्रारम्भ हुने चलन छ । जात्राको चार दिन अघि खोला थुनेर पोखरी बनाइन्छ । त्यहि पोखरीमा नुहाउन वैशाख १ गते श्रद्धालुहरु पुग्ने गर्दछन् । यो जात्रा औपचारिकरुपमा चार दिन भनिएपनि आठ दिनसम्म जात्रा मनाउने चलन अझै पनि विद्यमान छ । जात्राका क्रममा पूजाआजा गर्नुका साथै नेवार समुदायले आफ्नो भेषभुषा र संस्कृति झल्किने पहिरन लगाउने चलन छ ।
सपनतिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थललाई थुनेर बनाईएको पोखरीमा स्नान गर्दा कुष्ठरोगका साथै चिलाउनेजस्ता रोगहरुको पनि निराकरण हुने विश्वास गरिन्छ । उपत्यका भित्रका नेवार वस्ती भएका ठाँउहरु धर्मस्थली, मनमैजु, कीर्तिपुर, भक्तपुर र ललितपुर लगायतबाट सांस्कृतिक बाजागाजाका साथ सपनतीर्थ मेला भर्न आउने चलन छ ।
लिच्छविकालिन संस्कृति र परम्परा बोकेको मानिएको टोखाको सपन तीर्थ मेला र विस्केट जात्राले अझै पनि सरकारी महत्व नपाएको गुनासो भने बढ्दो छ ।
जात्रामा टोखाका महत्वपूर्ण मानिने शक्तिकेन्द्रहरु शिव, सरस्वती, गणेश, चण्डेश्वरी, इन्द्रायणी लगायत हिन्दू देवी देवताहरुको खट बनाई जात्रा चलाउने चलन छ ।