३८ वर्षीया विन्द्राले छोरीका लागि जितेको स्वर्ण
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार बिहान पोखरामा सम्पन्न म्याराथन स्पर्धाको महिलातर्फ स्वर्ण जित्नु एपीएफकी विन्द्रा धन्के श्रेष्ठ देसारका लागि डेढ दशकको करिअरमा एक अविष्मरणीय उपलब्धि रह्यो ।
८ वर्षीया छोरीलाई ललितपुरस्थित घरमै छाडेर आएकी विन्द्राले पहिलो म्याराथन स्वर्ण छोरीकै लागि समर्पित गरिन् । ‘छोरी घरमा मेरा लागि प्रार्थना गरेर बसेकी छन्,’ विन्द्राले आफूलाई छोरी भेट्न हतार भएको बताइन् ।
एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनर (एम्स)का प्रतिनिधिले गत महिना निर्धारण गरेको आधिकारिक रुटलाई पहिलोपल्ट नवौं खेलकुदमा प्रयोग गरिएको छ । २ घण्टा ५७ मिनेट २३ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जितेकी विन्द्राले रुट गाह्रो लागेको बताइन् ।
रजत जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेण्डको टाइमिङ निकालिन् । नेपाल पुलिसकी रेखा विष्टले ३ घण्टा १ मिनेट ३५ सेकेण्डमा दूरी पूरा गरी कांस्य जितिन् ।
३८ वर्षको उमेर, एक सन्तानकी आमा र ४२.१९५ किलोमिटरमा पहिलोपल्ट प्रतिस्पर्धा । त्यसमाथि आठौं राष्ट्रिय खेलकुदकी रजत तथा १३औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता एपीएफकै पुष्पा भण्डारी, आर्मीकी विश्वरुपा बुढा लगायतका युवा धावकलाई उछिनेर स्वर्ण जित्नु चानचुने सफलता होइन ।
उनी आफैंलाई पनि स्वर्ण जित्छु भन्ने आश थिएन । ‘कम्तिमा पदक जित्छु भन्ने थियो,’ सुरुदेखि एउटै पेसमा दौडिएर सफलता पाएकी उनले भनिन्, ‘सुरुमा आर्मीकी बहिनी (विश्वरुपा बुढा) अगाडि जानुभयो । पुष्पा र म सँगै दौडिरहेका थियौं । पुष्पालाई उछिनेर विश्वरुपालाई पछ्याउन थालें । ३२ किलोमिटरपछि उनलाई उछिनें ।’
१६ वर्षदेखि व्यवसायिक खेलाडीका रुपमा रहेकी विन्द्रा हाफ म्याराथनमा भने नेपालका स्थापित धावकमध्ये एक हुन् । उनले २०७२ सालमा आमा बनेपछि पनि दौडलाई निरन्तरता दिइन् । गत जेठमा एसियाडका लागि राष्ट्रिय टिम छनोट हुँदा म्याराथनको विजेता बनेपछि उनले नवौंका लागि तयारी थालिन् । ‘हाफ म्याराथन खेलिरहेको भएर गुरुहरुले म्याराथन पनि सक्छौ भनेर हौसला दिनुभयो । एकपल्ट हेरौं न त भनेर दौडिएको हुँ,’ विन्द्रा भन्छिन् ।
पाँचौं संस्करणदेखि राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेकी विन्द्रा मध्यम र लामो दूरीका धेरै स्पर्धामा सहभागी सफल छिन् । २०६५ मा काठमाडौंमै भएको पाँचौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलका लागि १० हजार मिटरमा सहभागी विन्द्रा पदकको छेउछाउ पुग्न सकिनन् । लगत्तै विभागीय टोली एपीएफमा अनुबन्ध भएसँगै उनको प्रदर्शनमा उल्लेख्य सुधार आयो ।
२०६८ मा सुदूरपश्चिममा आयोजित छैटौं राष्ट्रिय खेलकुदको समयमा उनी करिअरकै उच्च लयमा थिइन् । त्यतिबेला एपीएफका लागि उनले ३ स्वर्ण र १ कांस्य पदक जितेकी थिइन् । ८०० मिरटर, १५०० मिटर र ४ गुणा १०० मिटर रिलेतर्फ स्वर्ण विजेता उनी १० हजार मिटरमा कांस्य विजेता हुन् ।
छोरी सानी भएका कारण २०७३ मा पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुद गुमाएकी विन्द्राले तत्कालीन प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुदमा पुनरागमन गर्दै ५ हजार मिटरतर्फ कांस्य जितिन् । नवौंलाई नै आफ्नो करिअरको अन्तिम प्रतियोगिता भनेर तयारी गरेकी विन्द्राले आगामी दिनमा विश्राम लिने/नलिनेबारे निर्णय गरिसकेकी छैन । ‘सन्यास नै लिन्छु भनेर अहिले नै सोचेको त छैन । शरीरले साथ दियो भने अझै खेल्न सक्छु,’ उनले भनिन् ।
उनले आफ्नो सफलता छोरीसहित श्रीमान, एपीएफ टिम र आफ्नो पहिलो प्रशिक्षक सुशील नरसिंह राणालाई समर्पण गरिन् ।