राष्ट्रिय फुटबल टिममा ऋतिक र आशिषको इन्ट्री
दशरथ रंगशालमा ११ असोजमा हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अन्तिम टोलीमा समावेश हुँदै युवा फरवार्डद्वय ऋतिककुमार खड्का र आशिष चौधरीले राष्ट्रिय फुटबल टिममा ‘इन्ट्री’ गरेका छन् ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार घोषणा गरेको २३ सदस्यीय टोलीमा ऋतिक र आशिष दुई जना नयाँ अनुहार छन् ।
घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका ऋतिक र आशिषले प्रशिक्षण दौरान राम्रो सम्भावना देखाएको प्रशिक्षक हुमागाईँले बताए ।
‘उनीहरु राम्रो खेलाडी हुन् । ट्रेनिङ दौरान पनि राम्रो गरेर नै उनीहरु टिममा परेका हुन् । हामीले उनीहरुबाट राम्रो अपेक्षा रखेका छौं,’ हुमागाईँले टिम घोषणा कार्यक्रममा भने, ‘राम्रो क्यारेक्टर र प्रोफेसनालिजम भएकोले नै उनीहरु टिममा परेका हुन् ।’
पहिलो पटक राष्ट्रिय टिममा परेपछि ऋतिक र आशिष दुवै जना उत्साहित छन् । राष्ट्रिय टिमको जर्सी लगाएर सिनियर खेलाडीहरुसँगै ड्रेसिङ रुम सेयर गर्न उनीहरु उत्साहित भएको बताए ।
‘एकदमै खुशी अनुभव भइरहेको छ । यो सुरुवात मात्र हो,’ ऋतिकले अनलाइनखबरसँग भने, ‘अझै धेरै संघर्ष गरेर देशका लागि आफ्नो उत्कृष्ट प्रदर्शन दिने चाहना छ ।’
सर्लाही लालबन्दीका २० वर्षीय ऋतिकले गत वर्ष थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेलेका थिए । उनले उक्त लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
चर्च ब्वाइज क्लबलाई ए डिभिजनमा उकाल्न उत्कृष्ट प्रदर्शन गरेका आशिष यसअघि पनि क्लोज क्याम्पमा परेका थिए । तर घुँडाको समस्याका कारण उनी अन्तिम टिममा परेनन् । ‘राष्ट्रिय टिममा पर्दा धेरै खुशी लागेको छ । यो मेरो सुरुवात मात्र हो । आफ्नो देशबाट खेल्न पाए अझ धेरै गर्व अनुभव गर्छु’, आशिषले अनलाइनखबरसँग भने ।
मोरङ हरैचाँ-७ गछियाका २२ वर्षीय आशिष चर्च ब्वाइज ए डिभिजनमा उक्लँदा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।