रेमिट्यान्स : दशैंलाई उज्यालो पार्ने परदेशीको ‘उपहार’
कुवेतको राजधानी कुवेतसिटीस्थित मार्टमा काम गर्ने स्याङ्जा पुतलीबजारका रमेश पराजुलीले मंगलबार दशैंका लागि घरमा खर्च पठाए । २ महिनाअघि मात्रै कुवेत पुगेका उनले पठाएको ५० हजार रुपैयाँले यस वर्ष उनको परिवारले दशैं मनाउनेछ ।
‘५० हजारबाट अलिकति ऋण र ब्याज तिर्न पनि भनेको छु, दशैंमा एक जोर नयाँ कपडा हाल्नैपर्छ,’ उनी भन्छन्, ‘महँगी बढेर केही समान छोइनसक्नु भएको छ, दान दक्षिणा पनि गर्नैपर्यो ।’ दशैंमा धेरै खर्च धेरै हुन थालेको भन्दै उनले बालबच्चालाई लुगा कपडा किन्न र मिठो मसिनो खानका लागि मात्रै पनि सानो खर्चले नधान्ने उनको गुनासो छ ।
दुबईबाट मकवानपुरका विशाल पुडासैनीले बुधबार मात्रै तलब हात पारे । बिहीबार घरमा दशैं खर्च पठाउन लागेको उनले सामाजिक सञ्जालमा भएको सम्वादमा भने, ‘झण्डै दशैंमा पैसा पठाउन नपाएको, सरसापटी माग्न पनि धेरै साथीभाइको तलब आएको थिएन ।’
उनी आफूले पैसा पठाएपछि मात्रै घरमा दशैं भित्रिने बताउँछन् । ‘बुबासँग खर्च गर्न पैसा छैन, ऋण मागेर मनाएको दशैं खल्लो हुन्छ,’ उनी भन्छन्, ‘घरमा दशैं लागेर बालबच्चा खुसी भएको कुराले सन्तुष्ट हुन्छु । सबै खुसी हुँदा घर नै उज्यालो हुन्छ ।’
हरेक साल दशैंको मुखमा वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई घरमा पैसा पठाउन दबाव पर्छ । परिवारलाई दशैं खर्च पठाउने क्रमले रेमिट्यान्सको आप्रवाह पनि यही बेलामा बढ्छ ।
विगतका २ वर्ष महामारीका कारण धरै नेपाली युवा विदेश जान पाएका थिएनन् । गत वर्षबाट भने फेरि धेरै नेपालीहरु कामका लागि विदेशिने क्रम बढेको छ ।
जे जति नेपाली युवा विदेशमा छन्, दशैंका बेला नेपालमा परिवारको खुसीको लागि ऋण नै गरेर भए पनि दशैं खर्च पठाउने दबावमा हुन्छन् । अधिकांश नेपाली श्रमिकले खुसी–खुसी यो दायित्व पूरा गर्छन् पनि ।