अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ।
बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश भएको तर लिखित आदेश आइनसकेकाले कति दिनभित्र जवाफ पठाउनु पर्ने हो भन्ने आफूलाई थाहा नभएको बताए।
सर्वोच्च अदालतका अनुसार अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका थिए।
मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ।
केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।
उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।