साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा
साउन ९ गतेदेखि २० गते (जुलाई २५ देखि अगष्ट ५ सम्म) भारतको भुवनेश्वरमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको अन्तिम टोली छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका ३० बाट अन्तिम टोली छनोट गरिएको हो ।
सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानसहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई लगायत खेलाडी टिममा छन् ।
दोस्रो चरणको प्रशिक्षणबाट सौरभ कार्की, अकिव हक, आश्विन भट्टराई, राज थोकर, पृतन स्याङ्तान, क्षितिज भण्डारी र रोहित सुब्बाले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
यसपटककोभिड-१९ ले गर्दा उमेर समूहको प्रतियोगिता नहुँदा एन्फाले देशैभरीबाट खुला छनवट गर्दै ४१ जनालाई पहिलो चरणको बन्द प्रशिक्षणमा समावेश गरेको थियो ।
साफ यू-२० च्याम्पियनसिपमा नेपाल र आयोजक भारतसहित बंगलादेश, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल ९ साउनमा माल्दिभ्ससँग खेल्नेछ ।