इटालीमाथि सानदार जित निकाल्दै अर्जेन्टिनाले फाइनलिसीको उपाधि जित्यो
कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलिसीको उपाधि जितेको हो ।
इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लिओनेल मेस्सीले गोल नगरे पनि उत्कृष्ट प्रदर्शन गरे । उनले २ असिस्ट दिए । अर्जेन्टिनाको लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले समान एक-एक गोल गरे ।
खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले मेस्सीको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले अग्रता दोब्बर पारे । उनले मार्टिनेजको पासमा गोल गरेका थिए ।
दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाए । उनले मेस्सीको पासमा गोल गरेका थिए । इटालीले अर्जेन्टिनाको पोस्टमा केही प्रहार गरेपनि गोल भने गर्न सकेन ।
युरोपियन र दक्षिण अमेरिकन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको हो ।