अमेरिकाको अल स्टार्ससँग नेपाली क्रिकेट टोली पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ ।
अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली टोली अमेरिकामा रहेका पूर्वखेलाडीको क्लब अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
अल स्टार्सको जितमा विपुल शर्माले सर्वाधिक ५० रनको योगदान दिए भने एन्ड्रिज गौसले ४५ रन जोडे । त्यस्तै गौरभ बजाजले अविजित ४० रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १९० रन जोडेको थियो ।