युगान्डासँग लगातार तेस्राे हार, घरेलु मैदानमै नेपालले श्रृङ्खला गुमायो
पहिलाे पटक घरेलु मैदानमा टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेकाे नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्राे हार व्यहोरेको छ ।
बिहीबार भएकाे खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयाे । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलाे खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएकाे थियाे । दाेस्राे खेलमा नेपाल १ रनले पराजित भएकाे थियाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएकाे थियाे । १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनाेले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनकाे साझेदारी नै युगान्डाकाे जितकाे आधार बन्याे ।