रेनु दाहाल १२ हजार मत अन्तरले विजयी भरतपुरको मेयरमा
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।
नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ ।माओवादी केन्द्रले वटा वडाको वडाध्यक्ष पद जितेको छ ।