प्रिमियर लिगमा उक्लन २३ वर्षको प्रतीक्षा दुईपल्ट युरोपियन कप जितेको नटिङघमलाई
हर्डसफिल्ड टाउनमाथिको साँघुरो जितसँगै नटिङघम फरेस्टले प्रिमियर लिगका लागि आफ्नो २३ वर्षको प्रतीक्षा पूरा गरेको छ । वेम्बलीमा भएको च्याम्पियनसिप प्लेअफ फाइनलमा उपहार गोल सहयोगमा नटिङघमले १७० मिलियन पाउण्डबराबरको जित हासिल गरेको छ ।
शीर्ष डिभिजनमा पुनरागमनसँगै क्लबमा सानदार बदलाव आउनेछ । नटिङघमले दोस्रो डिभिजनमा ७ मध्ये ६ हारका साथ सिजनको सुरुवात गरेको थियो । आइतबार राती जेम्स गार्नरको क्रसमा हडर्सफिल्डका लेभी कोलविलको आत्मघाती गोल नै खेलमा निर्णायक बनेको थियो ।दोस्रो हाफमा हडर्सफिल्डले सुधारिएको प्रदर्शन गरे पनि ठूलो अवसर सृजना गर्न सकेन ।
सेप्टेम्बरमा क्रिस हग्टनलाइृ बर्खास्त गरी स्टिभ कुपरलाई प्रशिक्षणको जिम्मा दिएपछि नटिङघमको प्रदर्शनमा उल्लेख्य सुधार आएको हो । ३० वर्षपछि पहिलोपल्ट वेम्बलीमा खेल्ने अवसर पाएको यो टोलीले सर्वश्रेष्ठ प्रदर्शन गर्न सकेन । तर, पहिलो हाफमा विपक्षीबाट भएको एउटा गल्तीले खेल उनीहरुको पक्षमा पुग्यो ।
पहिलोपल्ट प्लेअफ फाइनलमा पुगेर बढुवा पाएको नटिङघमको सिजन भने निकै खराव प्रदर्शनबाट सुरु भएको थियो । दुईपल्टको युरोपियन कप विजेता यो टोलीले सुरुको ७ खेलमा १ अंकमात्र जोड्न सकेको थियो । यो उसको १०८ वर्षको इतिहासमै सबैभन्दा खराव सुरुवात थियो ।