फुटबल खेलाडी-प्रशिक्षक विवाद : छानबिन कार्यदलले प्रतिवेदन बुझायो
फुटबलका खेलाडी र प्रशिक्षकबीचको विवादलाई सुल्झाउने उपायबारे सुझाव दिन गठन गरिएको तीन सदस्यीय कार्यदलले सुझाव प्रतिवेदन एन्फालाई हस्तान्तरण गरेको छ ।
कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरलाई २८ पन्ने लामो सुझाव प्रतिवेदन हस्तान्तरण गरेको हो । कार्यदलले यो प्रतिवेदनमा उल्लेख भएका कुराहरु एक हप्ताभित्र नै सार्वजनिक गर्न माग समेत गरेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाड्न बाध्य बनाएपछि नेपाली फुटबलमा देखिएको घटनाक्रमले करिब दुई साता छुन लाग्दा एन्फाले बल्ल यस विषयमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदललाई एक साताको समय दिएर छानबिन गर्न लगाइएको थियो ।
छानबिनको सिलसिलामा १० खेलाडी, क्याम्पमा भएका मुख्य प्रशिक्षक, व्यवस्थापक, सहायक प्रशिक्षक तथा गोलरक्षक प्रशिक्षक सबैलाई एक-एक घण्टा लामो अन्तरर्वार्ता लिंदै छानबिन गरेको छानबिन कार्यदल संयोजक भिक्टर शमशेर राणाले जानकारी दिएका छन् ।