पल शाहविरुद्ध थुनछेक बहस जारी
बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए ।
बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोगपत्र दायर गरिएको थियो । १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएलगत्तै तनहुँ जिल्ला अदालतले चैत ८ गते प्रतिवादी पल शाह र चैत ९ गते उनका म्यानेजर कृष्ण जोशीको बयान लिएको थियो । त्यसलगत्तै दुवैजनालाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बहस गरेका थिए ।
बुधबार नै प्रतिवादीका पक्षबाट ३ जनाले बहस गरेका थिए । प्रतिवादी तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अभियोग पुष्टी हुने आधार पनि नरहेको कारण प्रतिवादीलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने उनीहरुले माग गरेका थिए ।
बुधबार बहस नसकाएका कानुन व्यवसायीले बिहीबार कार्यालय समय सुरु भएलगत्तै बहस सुरु गरेका थिए । हाल प्रतिवादीका तर्फबाट तेस्रो नम्बरमा रहेका अधिवक्ताको बहस भइरहेको भन्दै प्रतिवादीका तर्फबाट ९ जनाले वकालतनामा दिएको र थप कानुन व्यवसायी पनि समावेश हुने भन्ने सुनेकाले बिहीबार पनि थुनछेक बहस सकिने सम्भावना कम रहेको श्रेष्तेदार कुँवरले बताए ।