विद्यालयमा कोरोनाको दोस्रो लहरको डर
कोरोना संक्रमण फेरि फैलन सक्ने जोखिम रहेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने काम र व्यवसाय नगर्न सार्वजनिक अपिल गरेको छ ।
भिडभाड हुने स्थानमध्ये विद्यालय पनि एक हो । पुसदेखि अधिकांश विद्यालयले विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा पठनपाठन गराइरहेका छन् । फेरि कोरोना संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न भने पनि विद्यालयहरु भने सञ्चालनमा छन् ।
विद्यालयहरु जनस्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको बताउँछन् । विद्यालयहरुले मास्क अनिवार्य, सेनिटाइजर प्रयोग, हात धुनुपर्ने नियम त बनाएका छन् । तर, बालबालिकाले सामाजिक/भौतिक दुरी कायम राख्न भने नसकेको शिक्षकहरुको भनाइ छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अभिभावकमा भने त्रास बढेको छ । बालबालिकाले समाजिक/भौतिक दुरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग लगायतमा ध्यान दिन नसक्ने अवस्था रहन्छ । त्यसबेला विद्यालयले पनि उचित निगरानी राख्छ भन्ने कुरामा विश्वस्त हुन नसक्दा अभिभावक डराइरहेका नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।
विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा, २०७७ ले स्थानीय तहलाई आफ्नो क्षेत्रको अवस्था अनुसार विद्यालय सञ्चालन गर्ने वा त्यससम्बन्धी रणनीति बनाउन पाउने अधिकार दिएको छ ।
कार्य ढाँचामा प्रदेश सरकार तथा स्थानीय तहहरुले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयार गर्नेलगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरु गर्न सक्ने भनिएको छ ।
उपत्यकामा संक्रमितको संख्या बढ्दै गइरहे पनि स्थानीय तहहरु भने पर्ख र हेरको स्थितिमा देखिन्छन् ।
पुसदेखि पूर्ण रुपमा सञ्चालन भइरहेका विद्यालयहरु अहिले यथावत चलिरहेका छन् । काठमाडौं महानगरले आउने साता सामुदायिक विद्यालयका शिक्षकहरुसंग गोष्ठी गर्न लागेको र त्यहाँ थप छलफल गर्ने जनाएको छ ।
ललितपुर महानगरपालिकाको शिक्षा शाखाले महानगरभित्रका सामुदायिक विद्यालयहरुलाई आवश्यक मास्क, सेनिटाइजर उपलब्ध गराइरहेको छ ।