शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान
मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव विप्लव पनि छन् । शिक्षक श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको थियो ।
प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट हतियारसहित पक्राउ गरेको थियो । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद भएको थियो ।
हतियार भेटिएपछि सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हातहतियार खरखजाना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो । हातहतियार खरखजाना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । दोस्रो मुद्दामा पनि थुनामै राख्ने आदेश भएको हो ।
शिक्षक हत्या प्रकरणमा घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । तीमध्ये ३५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।
विप्लव समूहले सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको थियो । घटना भएकै दिन विप्लव समूहका मेची–कोसी ब्यूरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।