बागमती प्रदेशका १३ वटै जिल्लामा कोरोना खोप अभियान सुरु
(हेटौंडा) बागमती प्रदेशका १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री पौडेलको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले पहिलो खोप लगाए ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकारको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरेको बताए ।
काम गरेन भन्ने आरोप खेपिरहेको सरकारले विश्वका अन्य धेरै मुलुकभन्दा पहिले नेपालमा भ्याक्सिन ल्याएर जनताको स्वास्थ्यमा चासो राखेको उनले बताए । उनले कोरोनाविरुद्धको अभियानमा क्रियाशिल सबैलाई धन्यवाद दिएका थिए ।