टोटेनहम कारावाओ कपको फाइनलमा
ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।
टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि नजिक पुगको हो । सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न सकेको छैन् ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि २-० को सहज जित हात पारेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको र ह्युङ मिन सनले गोल गरे ।
खेलको १२औं मिनेटमा नै सिस्सोकोको गोलबाट टोटेनहमले खेलमा अग्रता लिएको थियो । उनले सर्जिया रिगुइलोनको पासमा गोल गरेका थिए । ७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २-० को सहज जित दिलाए । सनले टांगी एनडोम्वेलेको पासमा गोल गरेका थिए ।
अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीच आज राति ओल्डट्राफोर्डमा प्रतिस्पर्धा हुदैछ । फाइनल २५ अप्रिलमा हुनेछ ।