बेलायतमा नेपाली सेफ सन्तोष 'मास्टर सेफ प्रोफेसनल्स २०२० को अन्तिम तीनमा
बेलायतमा बस्दै आएका नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको उत्कृष्ट तीनमा परेका छन्। योसँगै उनी अन्तिम राउन्डमा प्रवेश पाएका हुन्।
'बीबीसी वान' टेलिभिजनबाट प्रशारित फाइनल राउन्डको पहिलो चरणबाट ६ प्रतियोगीबाट अघि बढ्दै उनी टप ३ मा पुगेका हुन्। शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन्।
बिहीबारको शोमा सन्तोषले जिम्बु झानेको भेडाको मासुलाई गुन्द्रुकमा बेह्रेर पस्केका थिए। साथै उनले स्पाइसी सोयाबिन क्रम्ब्स, पुदिनाको पराठा, बोन म्यारो ससलगायतका खाना पकाएर निर्णायकहरुको मन जितेका थिए।
त्यसमा सन्तोषले आफू १२ वर्षको हुँदा स्थानीय नहरमा काम गर्दाको समयलाई सम्झदै आफ्नी आमाका लागि परिकार बनाए। कामको बीचको ब्रेक हुन्थ्यो । ब्रेकमा आमाले उनलाई खाजा ल्याइदिन्थिन्। आमा–छोरा दुबै सँगै खान्थे। उनले आफ्नो विशेष समयलाई स्मरण गर्दै अन्जिर र अदुवा भरेर चिप्ली भिन्डी तारे, आँप र नरिवलको चटनी बनाए, आलु, मेथी र अनारको सलाद बनाए, केसर हालिएको भात, गँगटोको तरकारी सस, तारेको हरियो खुर्सानीसँगै पुरी बनाए। साथै उनले चकलेट र ऐंसेलुको सम्मिश्रणले उत्कृष्ट पकवान तयार पारे।