युभेन्टसको सहज जित
सिरी एमा साविक विजेता युभेन्टसले सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा युभेन्टसले जेनोआलाई ३-१ गोल अन्तरले पराजित गरेकाे छ ।
युभेन्टसलाई सहज जित दिलाउनकाे लागि रोनाल्डोले दुई गाेल गरे भने पाउलो डिबालाले एक गोल गरे । रोनाल्डोले दुवै गाेल पेनाल्टीमार्फत गरेका थिए । घरेलु टोलीका स्टेफानो स्टुरारोले एक गोल फर्काए । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
५७औं मिनेटमा पाउलो डिबालाले गाल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाए । उनले वेस्टन म्याकिनीको पासमा गोल गरेका थिए । ६१औं मिनेटमा स्टेफानोले लुका पेलिग्रिनीको पासमा गोल गर्दै खेललाइ १-१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई २-१ ले अघि बढाए । रोभेल्लाले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् ।
८९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । गोलरक्षक माटिया पेरिनले मोराटामाथि फल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गरेको थियो । यो जितसँगै ११ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित जिनोआ ६ अंक जोडेर १९औं स्थानमा रहेको छ ।