दिल्ली क्वालिफायरमा
रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले आइपिएल २०२० मा दोस्रो स्थान पक्का गरेको छ।
सोमबार राति बेंग्लोरलाई ६ विकेटले पराजित गरेसँगै दिल्लीले १६ अंक जोड्दै दोस्रो स्थान पक्का गरेको हो।
अब दिल्लीले १८ अंक जोडेर शीर्ष स्थानमा रहेको शीर्ष टिम मुम्बईसँग आगामी बिहीबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ। जित्ने टिम फाइनलमा पुग्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायरमा मौका पाउनेछ।
अबुधाबीमा बेंग्लोरले दिएको १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। दिल्लीको जितमा शिखर धवनले ५४ रन र अजिन्का राहाणेले ६० रनको योगदान दिए। बलिङमा बेंग्लोरका शाहबाज अहमेदले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ७ विकेटको क्षतिमा १५२ रन जोड्यो। उसका लागि देवदुत पडिकलले ५० रन जोडे भने एबी डी भिलियर्सले ३५ रनको योगदान दिए।
बलिङमा दिल्लीका एनरिच नोर्कियाले ३ विकेट लिए भने कागिसो रबाडाको नाममा २ विकेट रह्यो।