चीन पुगे परराष्ट्रमन्त्री शिशिर खनाल, बेइजिङमा नेपाली समुदायसँग संवाद
चारदिने औपचारिक चीन भ्रमणका लागि बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
नयाँ सरकारको सन्देश लिएर आइतबार मध्याह्न बेइजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागी हुँदै नेपाली समुदायसँग संवाद गरेका हुन्।
भ्रमणका क्रममा उनले आफ्ना चिनियाँ समकक्षी वाङ यी सहित चीनका उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि दक्षिणी छिमेकी भारतको भ्रमण गरिसकेका खनालले उत्तरी छिमेकी चीनसँगको सहकार्यलाई थप सुदृढ बनाउन विभिन्न तहमा संवाद अघि बढाउने जनाइएको छ।
नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्रीको यो भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने कूटनीतिक पहलका रूपमा हेरिएको छ।