यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई
(काठमाडौँ) यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ । शुक्रबार स्टकहोममा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।
संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।
नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।
गत वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई दिइएको थियो । अन्तर्राष्ट्रिय शान्ति र सहकार्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो । उनले लामो समयदेखि छिमेकी मुलुक इरिट्रियासँग रहेको सीमा समस्या र द्वन्द्व समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक हेनरी ड्युनालाई प्रदान गरिएको थियो । त्यस्तै दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मन्डेलालाई पनि सन् १९९३मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।