बेल्जियमकाे जित
नेसन्स लिग फुटबलमा बेल्जियमले आइसल्यान्डमाथि संघर्षपूर्ण जित निकालेकाे छ । बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डमाथि २-१ गाेल अन्तरकाे संघर्षपूर्ण जित निकालेकाे हाे ।
बेल्जियमलाई जित दिलाउनकाे लागि स्ट्राइकर रोमेरो लुकाकुले २ गाेल गरे । आइसल्यान्डकाे लागि मार साएभर्सन एक गाेल गरे ।
आइसल्यान्डको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा बेल्जियमले अग्रता लिएको थियो । लुकाकुले गोल गर्दै बेल्जियमलाई १-० को अग्रता दिलाए ।
१७ औं मिनेटमा घरेलु टोली आइसल्यान्डले बराबरी गोल फर्कायो । घरेलु टोलीका बिर्किर साएभर्सनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । तर, ३८ औं मिनेटमा बेल्जियमले पुनः अग्रता लियो । आइसल्यान्डका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीलाई लुकाकुले गोलमा परिणत गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । पहिलो हाफमा तीन गोल भएपनि दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै गोल हुन नसक्दा खेल बेल्जियमले जितेको हो ।
जितसँगै बेल्जियम समूह बीको शीर्ष स्थानमा छ । बेल्जियमको चार खेलबाट ९ अंक रहेको छ । पराजित आइसल्यान्डले भने लगातार चौथो हार व्यहोरेको छ ।