कोरोना संक्रमण बढेपछि दाङमा खुलेका विद्यालय फेरि बन्द हुन थाले
दाङमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ।
सोमबारदेखि घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरिसकेका छन्। घोराही उपमहानगरपालिकाले सोमबारदेखि लागू हुुनेगरी कात्तिकको १५ गतेसम्म २० दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै सञ्चालित शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको घोराहीका कार्यबहाक नगर प्रमुख भरतमणि अर्यालले बताए ।
पछिल्लो समय घोराही उपमहानगरपालिकाले असोजको १ गतेदेखि नगरका सम्पूर्ण विद्यालयमा शिक्षण सिकाईको कार्य सञ्चालन गरेको थियो। अर्यालको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले तत्कालका लागि शिक्षण सिकाईका क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको थियो।
घोराहीमा कक्षा ११ को परीक्षा समेत कात्तिक १५ गतेसम्मका लागि रोक लगाएको घोराहीका शिक्षा महाशाखाका प्रमुख बिनोद गौतमले जानकारी दिए। पठन पाठन बन्द गरे पनि विद्यालयको दैनिक प्रशासनिक कार्य भने सञ्चालन गर्न दिने निर्णय भएको गौतमले बताए।