लागूऔषध मामिलामा दीपिका, साराअली र श्रद्धालाई एनसीबीको क्लिन चिट
(काठमाडौँ) भारतको लागूऔषध ब्यूरो(एनसीबी)ले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशलाई क्लिन चिट दिएको छ । लागूऔषध मामिलामा यी चारलाई एनसीबीले सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा सन् २०१७ को ह्वाटसाप च्याटको कुराकानीमा अभिनेत्री पादुकोण र म्यानेजर प्रकाशले आफूहरुले 'चुरोट'लाई माल, वीड, ह्यस र डुबलगायतको नामले बोलाउने गरेको बयान दिएका थिए । रमाइलोका लागि उनीहरुले चुरोटलाई विभिन्न कोड दिएको बताएका थिए । एनसीबीले दीपिका र प्रकाशलाई छुट्टाछुट्टै कोठामा राखेर सोधपुछ गरेको थियो । एनसीबीले सन् २०१७ को ह्वाटसाप ग्रुपको च्याटमा आधारित भएर सोधपुछ गर्दा उनी दुईले कोडबारे जानकारी दिएको हो ।
ड्रग्स मुद्दामा तानिएकी दीपिका यसै मामलाले अन्तर्राष्ट्रिय समाचारमा पनि छाइन । सुशान्तसिंह राजपुतको मृत्युमाथि छानबिन गर्ने क्रममा यसअघि अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि विस्तारै बलिउडका कलाकार यस मुद्दामा तानिएका थिए ।