सिजनको फ्रेञ्च फुटबल लिग अब नहुने
कोरोनाभाइरसका कारण स्थगित भएको फ्रेञ्च फुटबल लिग वान र लिग टु अब यो सिजन नहुने भएको छ।
फ्रान्सले सबै खेलकुद गतिविधिलाई आगामी सेप्टेम्बरसम्म विना दर्शकको रंगशालामा समेत गर्न नदिने गरी प्रतिबन्ध लगाएसँगै रोकिएको लिग वान र टु नहुने भएको हो।
यसअघि फ्रान्सको फुटबल संघले आगामी १७ जुनबाट लिग सुचारू गर्ने तयारी गरेको थियो। उसले लिग २५ जुलाईमा सकेर सिजन अन्त्य गर्ने बताएको थियो।
फ्रेञ्च लिग १३ मार्चमा अनिश्चितकालका लागि स्थगित भएको थियो। अब फ्रान्सको फुटबल संघले लिग रद्द गर्नुका साथै कुनै बढुवा, रेलिगेशन र च्याम्पियन घोषणा गर्ने छैन।
लिगमा साविक विजेता पिएसजीले दोस्रो स्थानको मार्सेलीसँग १२ अंकको अग्रता लिएको अवस्था थियो।