अमेरिकाविरुद्ध सन्दीप मुख्य हतियार
(काठमाडौं) सन्जम रेग्मी, शक्ति गौचन र बसन्त रेग्मी कुनै समय नेपाली क्रिकेटमा स्पिन टि्रयो थिए । र, त्यसबेला नेपालको खेल जित्ने हतियार नै स्पिन थियो ।
नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्ने तयारी गर्दा तीनै खेलाडी राष्ट्रिय टिममा छैनन् । सन्जमले क्रिकेट खेल्न छाडेको धेरै भइसक्यो भने शक्तिले सन् २०१८ मा नेदरल्याण्ड्समा पहिलो ऐतिहासिक सिरिज खेल्दै सन्यास लिए । बसन्त पनि पारिवारिक कारण यसपटक टिममा छैनन् ।
माघ २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने सिरिज खेल्ने नेपाली टिममा युवा खेलाडीको बाहुल्य छ । वर्ल्डकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न ओमान र अमेरिकाको टिम पनि काठमाडौं आइसकेका छन् । अमेरिका २०१० र ओमान २०१२ पछि पहिलो पटक नेपाल आएका हुन् ।
नेपालले २०१० मा त्रिवि क्रिकेट मैदानमै अमेरिकालाई हराउँदै डिभिजन ५ को उपाधि जितेको थियो ।
त्यो ५० ओभरकै खेल थियो, जसलाई अहिले एकदिवसीयको मान्यता दिइएको छ । त्यसबेला खेलेकामध्ये चार खेलाडी नेपालको राष्ट्रिय टिममा छन् । अमेरिकालाई हराउँदा नेपाली टिमबाट खेलेका ३७ वर्षीय सन्जम भन्छन्, ‘यो सिरिजले थाहा हुन्छ हाम्रो त्यो बेलाको टिम राम्रो थियो कि अहिले छ भनेर ।’
तर उनलाई टी-२० लिगहरुले ५० ओभरको क्रिकेटमा त असर गरेन भन्ने चिन्ता छ । भन्छन्, ‘हाम्रो देशमा ३ वटा टी-२० लिग हुन्छ विश्वमा कही हुँदैन यस्तो ।’ठीक विपरीत २०१० मा नेपालले खेलेको र अहिलेको अमेरिकी टिममा धेरै फरक आएको उनको बुझाइ छ । ‘त्यो बेला अमेरिका ५० ओभरको क्रिकेटमा राम्रो थियो । बोर्डको विवादका कारण डिभिजन ५ मा धकेलिएको थियो,’ पूर्वक्रिकेटर सन्जम भन्छन्, ‘अमेरिकाको टिम अहिले डबल स्ट्याण्डर्ड छ ।’
त्यसमाथि त्यसबेला खेलेको डिभिजन क्रिकेट थियो भने अहिलेको ओडीआई लिग हो । ‘यो विश्व क्रिकेट लिग होइन ओडीआई म्याच हो । रेटिङमा जान्छ । यसले जोश पनि आउँछ,’ सन्जमले ओडीआई खेल्नुको अर्थबारे प्रष्ट पारे ।
आईसीसीले सन् २०२३ मा भारत हुने ५० ओभरको विश्वकपका लागि २०१८ मा नयाँ संरचनामा जाने निर्णय गरेको थियो । त्यसअनुसार २०१९ बाट वर्ल्डकप लिग टु सुरु भइसकेको छ । त्यसैले यो विश्वकपको छनोट आधार पनि हो । लिगमा अमेरिका र ओमानले २-२ सिरिज खेलिसकेका छन् भने नेपालले भने पहिलो सिरिज खेल्दैछ । तर यो नेपालका लागि सहज छैन भन्छन् सन्जम ।
‘हामीले अमेरिकालाई हरायौं र ओमानसँग हार्यौं वा दुवै टिमसँग हार्यौं भने हामीले बुझ्नुपर्छ कि त्यो बेलाको भन्दा अहिले टिम खराब भाएको छ । किनकी टी-२० ले गर्दा ५० ओभरको म्याच हुन छाडेको छैन,’ सन्जमले भने ।
उनकाअनुसार कुनै समय बराबरी अवस्थामा रहेको ओमान अहिले स्तरीय टिम बनेको छ ।