हालान्डको दुई गोलमा डर्टमण्ड विजयी, नेइमारको गोलले पिएसजीको हार टरेन
(काठमाडौं) टिनएज स्टर एर्लिन हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तसम्म १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मनले पिएसजीलाई २–१ ले पराजित गरेको छ । नेइमारले एक गोल गरे पनि पिसएजीलाई जिताउन भने सकेनन् ।
जर्मन क्लब डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा तीन वटै गोल दोस्रो हाफमा ७ मिनेटको अन्तरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६९औं मिनेमा हालान्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । ७५औं मिनेटमा नेइमारले पिएसजीका लागि बराबरी गोल फर्काए । तर ७७औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि डर्टमण्डले अग्रता बनाउँदै खेल जित्यो ।
यसै जनवरी विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट डर्टमण्ड पुगेका हालान्डले गोलको वर्षा गरिरहेका छन् । च्याम्पियन लिगमा पनि उनले खेलेका सातवटै खेलमा गोल गर्ने क्रममा अहिलेसम्म १० गोल गरिसकेका छन् । यस सिजन उनले सबै खाले क्लब प्रतियोगितामा गरी २९ खेल खेल्दै ३९ गोल गरिसकेका छन् ।
उनी पिएसजीका किलियन एम्बाप्पेपछि च्याम्पियन्स लिगमा १० गोल पूरा गर्ने टिनएजर बने ।