उत्कृष्ट चलचित्रको उपाधि जित्दै 'प्यारासाइट'ले रच्यो इतिहास
इतिहासमै पहिलो पटक गैर अंग्रेजी भाषाको चलचित्रले ओस्कारमा उत्कृष्ट चलचित्रको उपाधि जितेको छ।
दक्षिण कोरियाली चलचित्र 'प्यारासाइट'ले उत्कृष्ट चलचित्रको अवार्ड पाएको हो। एकेडेमी अवार्डको ९२ वर्षको इतिहासमा विदेशी भाषाको चलचित्रले यो अवार्ड जितेको थिएन। उक्त चलचित्रले छिँडीमा बस्ने गरीब परिवार र भव्य महलमा बस्ने धनी परिवारबीचको भेद दर्शाउँदै सामाजिक व्यवस्थामाथि व्यङ्ग्य गरेको छ।
चलचित्रको निर्देशन बङ जुन होले गरेका हुन्। उत्कृष्ट अभिनेत्रीतर्फ 'जुडी' चलचित्रकी अभिनेत्री रेनी जेलवेगरले अवार्ड जितिन् भने 'जोकर'बाट जोआक्विन फिनिक्सले उत्कृष्ट अभिनेताको उपाधि हात पारे। उत्कृष्ट सहायक भूमिकाको अवार्ड पुरुषतर्फ 'वन्स अपन अ टाइम इन हलिउड'का लागि ब्राड पिट र महिलातर्फ 'म्यारिज स्टोरी'बाट लाउरा डेर्नले पाए। 'प्यारासाइट'ले उत्कृष्ट चलचित्र र पटकथासहित कूल चार अवार्ड जित्यो। त्यस्तै, '१९१७' ले तीन अवार्ड हात पार्यो।