नेपालमा सिरिज खेल्ने अमेरिकी टोली घोषणा, भारतमा तयारी गर्ने
(काठमाडौं) विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालमा यही माघ अन्तिम साता हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाको टोली घोषणा भएको छ ।
शौरभ नेत्रभाल्करको कप्तानीमा युएसए क्रिकेटले सोमबार १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै, अमेरिकाले नेपाल आउनुअघि भारतको मुम्बईमा तयारीसमेत गर्ने भएको छ ।
नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । काठमाडौंको कन्डिसनमा अभ्यस्त हुनका लागि अमेरिकाले मुम्बईका तयारी क्याम्प राख्न लागेको जनाएको छ । अमेरिकी टिम जनवरी २४ मा मुम्बई पुग्नेछ । जहाँ अमेरिकाले मुम्बई क्रिकेट एसोसिएसन एघारसँग ३ अभ्यास खेलसमेत खेल्नेछ ।
खेल मुम्बईको मान्भलीस्थित सचिन तेन्दुरलकर जिमखाना ग्राउण्डमा हुनेछ । अहिलेसम्म लिग २ मा दुई सिरिज खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । कुल ८ खेल खेल्दा अमेरिकाले ६ खेल जितेको थियो ।
नेपाली टिम भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । प्रशिक्षणमा २४ खेलाडी छन् । अब त्यसैबाट अन्तिम टोली छनोट गरिनेछ ।