ए डिभिजन लिगमा सन्तोष साहुखलले सय गोल पूरा गरे
(काठमाडौं) सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । यो सिजन च्यासल युथ क्लवबाट खेलिरहेका उनले बुधबार नेपाल पुलिसविरुद्ध गोल गर्दै उनले उक्त कोसेढुङ्गा पूरा गरेका हुन् ।
१७ औं मिनेटमा च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न त प्रयास गरे पनि पूर्ण क्लियर गर्न नसक्दा सन्ताषे साहुखलले गोल गरे ।
यस सिजनमा उनको यो चौथो गोल हो । सिजनको पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए । तर एनआरटी र जावलाखेलसँग भने उनले गोल गर्न सकेका थिएनन् ।
२०६० मा थ्री स्टारबाट लिग खेल्न सुरु गरेका सन्तोषले पहिलो सिजन ६ गोल गरेका थिए ।
उनले २०६० मा संकटाविरुद्ध लिगमा डेब्यु गोल गरेका थिए ।