लिगमा राष्ट्रिय स्ट्राइकरहरुको गोल खडेरी
(काठमाडौं) बिहीबार सन्तोष साहुखलले नेपाली शीर्ष श्रेणीको लिगमा एक सय गोलको कीर्तिमान बनाए । शहीद स्मारक ए डिभिजन लिगमा सय गोल पूरा गर्ने सन्तोष पहिलो खेलाडी हुन् । तर सन्तोस साहुखल अहिले राष्ट्रिय टिमका स्ट्राकर होइनन् । सन् २०१५ यता राष्ट्रिय टिममा छैनन् । तर लिगमा राम्रो खेलिरहेका उनी ५ गोल गर्दै सर्वाधिक गोलकर्तामा अगाडि छन् ।
लिगको पाँचौ चरणको खेल सकिँदा ७० गोल भयो । तर राष्ट्रिय टिममा स्ट्राकरहरु भरत खवास, नवयुग श्रेष्ठ र अभिषेक रिजालको गोल जोड्दा ४ मात्र हुन्छ । अर्का एक स्ट्राकर विमल मगरले भने निलम्बनका कारण लिग खेल्न पाएका छैनन् ।
भरत नेपाल आर्मीका कप्तान हुन् । नवयुग पनि आर्मीबाटै खेल्छन् । युवा फरवार्ड अभिषेक मच्छिन्द्र कलबबाट खेल्छन् । राष्ट्रिय टिमका फरवार्ड रहेका नवयुगले दुई गोल गर्दा भरत र अभिषेकले समान एक-एक गोल गरेका छन् ।
गोल हुन बलको क्रिएसनको अभाव छ । कतिपय क्लबले राम्रो अवसर नै बनाउन सकेका छैनन् । अवसर नै कम सृजना भएको बेला स्ट्राइकरहरु फिनिसिङमा पनि निरन्तर चुकिरहेका छन् बरु नेपालको राष्ट्रिय टिममा खेलिसकेका, तर हाल टिममा नरहेका नेपाल पुलिसका सुमन लामाले चार तथा मनाङ मर्स्याङ्दीका विमल रानाले ३ गोल गरेका छन् ।
राष्ट्रिय टिमका फवार्डहरुले नै लिगमा गोल गर्न नसक्नु सुखद होइन ।
नेपाली स्ट्राइकर किन चुक्छन् त ? आफ्नो लेभलअनुसार खेल्न नसकेर अनि पाएको मौका सदुपयोग गर्न नसकेर । फुटबल विश्लेषक सन्जिव मिश्रको भनाइ पनि यही छ । ‘आफ्नो लेभलअनुसार स्ट्राइकरले जसरी पेनाल्टी एरियामा बल पाउँछ, त्यसरी गोलमा कन्भर्ट गर्न नसक्नु पनि गोल धेरै नहुनुको अर्को कारण हो,’ मिश्रले भने ।
नेपाल आर्मीका प्रशिक्षक नवीन न्यौपाने पनि नयाँ खेलाडीहरुले गोल गर्नुपर्ने भए पनि नसकेको बताउँछन् । उनी भन्छन्, ‘सन्तोषजस्ता पुराना खेलाडीहरुले गोल गरिरहेका छन् । तर नयाँ खेलाडीहरुले गोल गर्न सकेका छैनन् ।’
ए डिभिजन लिगका निर्देशकसमेत रहेका फुटबल विश्लेषक मिश्रले लिगमा गोल संख्या कम हुनुको एउटा कारण मिडफिल्डले गोलको अवसर नै बनाउन नसकेको पनि बताउँछन् । ‘केही टिमको सट पास, बल पोसेसन राम्रो छ,’ मिश्र भन्छन्, ‘तर त्यहाँ पनि समस्या छ । गोल हुन बलको क्रिएसनको अभाव छ । कतिपय क्लबले राम्रो अवसर नै बनाउन सकेका छैनन् ।’
एक त अवसर नै कम सृजना भएको बेला स्ट्राइकरहरु फिनिसिङमा पनि निरन्तर चुकिरहेका छन् । ‘गोल त्यति सजिलै हुने होइन, तैपनि यो सिजन सोचेअनुसार गोल हुन सकेको छैन । स्ट्राइकरहरु फिनिसिङमा चुकिरहेका छन्,’ मिश्रले भने ।
कुनै जमाना थियो ए डिभिजन लिगमा कसले बढी गोल गर्ने तछाडमछाड हुन्थ्यो । बसन्त थापा, हरि खड्का, निराजन रायमाझी, सुरेन्द्र तामाङ अनि सन्तोष साहुखल पनि लिगमा कसले बढी गोल गर्ने भनेर प्रतिस्पर्धामा हुन्थे । त्यसबेला स्ट्राइकरले पाएको अवसर खेर फाल्दैनथे । गोल पनि निस्किन्थ्यो । पुराना दिन सम्झिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘उनीहरुले पाएको अवसर मिस गर्दैनथे । हरि दाइ, सुरेन्द्रहरु गोल गरिहाल्थे । पछि भरत आए । तर यो सिजन उसले पनि पहिला जसरी स्कोर गररिरहेका थिए, त्यो भएन ।’
नवयुगको हकमा पनि एकताका माथिल्लो स्तरमा गोलहरु गरेको तर अहिले नसकेको उनले सुनाए ।