सागमा नेपाली तेक्वान्दो : गुमेको विरासत फर्काउने चुनौती प्रशिक्षक दीपक विष्ट भन्छन्- आठौं सागको झल्को दिनेछौं
(काठमाडौं) दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म नेपाललाई सबैभन्दा धेरै स्वर्ण दिलाउने खेल हो तेक्वान्दो । तेक्वान्दोले सागमा अहिलेसम्म नेपाललाई सर्वाधिक २४ स्वर्ण, १४ रजत र ८ कास्य दिलाएको छ ।
सन् १९९९ मा नेपालमै भएको आठौं संस्करणबाट सागमा तेक्वान्दो भित्रिएको थियो । त्यसबेला जम्मा १५ स्वर्णमध्ये १४ वटा नेपालले आफ्नो पोल्टामा पार्न सफल भयो । २००४ मा इस्लामावादमा भएको नवौं सागमा ६ स्वर्ण जितेको तेक्वान्दोले २००६ मा कोलम्बोमा भएको दशौं र २०१० मा ढाकामा भएको ११औं सागमा २/२ स्वर्ण मात्र जित्यो । पछिल्लो संस्करण भारतको गुहावटी र सिलोङमा हुँदा त तेक्वान्दोमा नेपाल स्वर्णबाट वञ्चित नै बन्यो । ७ खेलाडी फाइनल पुगेर पनि स्वर्ण जित्न सकेनन् ।
२० वर्षपछि साग नेपालमा फर्केको छ । के आठौं सागमा जस्तै तेक्वान्दोले यसपालि पनि अविस्मरणीय नतिजा दिन सक्ला त ? त्यो त्यति सजिलो लक्ष्य भने होइन ।
तेक्वान्दोमा नेपालका लागि लगातार चार स्वर्ण जितेका लेजेन्ड दीपक विष्ट यसपालि प्रशिक्षकको भूमिकामा छन् ।
यसपटक आठौं सागकै झल्को दिनेगरी तेक्वान्दोले तयारी गरेको उनी दाबी गर्छन् । ‘यसपटक दुईवटा विधा समावेश भएकाले आठौं सागको झल्को ल्याउनुपर्छ भन्ने सोचका साथ तयारी गरिरहेका छौँ,’ उनले भने ।
विष्टले आठौंदेखि ११ औं सागसम्म लगातार चार स्वर्ण जितेका थिए । लगातार चार सागमा स्वर्ण जित्ने पहिलो र एक मात्र खेलाडीको कीर्तिमान उनको नाममा छ ।
अहिले घरेलु मैदानमा हुन गइरहेको साग नेपालका लागि चुनौती र अवसर दुवै भएको बताउँछन् विष्ट । उनी भन्छन्, ‘हामीले होम ग्राउन्डको फाइदा लिने अवसर त छँदैछ, अर्कोतर्फ राम्रो नतिजा ल्याउनुपर्ने दबाब पनि उत्तिकै छ । खासगरी तेक्वान्दोमा सबैले आशा राखेका छन्, जुन हाम्रो लागि चुनौती पनि हो ।’
१३ औं सागमा भारतले तेक्वान्दोमा सहभागिता नजनाउने चर्चा थियो । तर अन्तिम समयमा आएर भारतले भाग लिएको छ, यसले नेपाललाई थप चुनौती दिएको छ । तर प्रशिक्षक विष्टको मत अलि फरक छ ।
यो आफैंमा दक्षिण एसियाली स्तरको प्रतियोगिता भएकाले यसमा दक्षिण एसियाका सबै देशको सहभागीता अपेक्षित रहेको उनी बताउँछन् । अन्तिम समयमा भए पनि भारतले सहभागिता सुनिश्चित गर्नु खुशीको कुरा भएको उनको ठम्याइ छ । ‘को आउँछ, को आउँदैन भन्ने छोडेर आफ्नो तयारी राम्रोसँग गर्ने हो । सबैलाई जित्न सक्ने आत्मविश्वास राख्नुपर्छ,’ विष्टले भने ।
तैपनि भारतले भाग नलिएको भए फाइदा हुन्थ्यो कि भन्ने प्रश्नमा विष्ट भन्छन्, ‘भारत बलियो टिम हो । भारत नआएको खण्डमा पक्कै पनि हाम्रो पदक सम्भावना बढ्थ्यो । तर साग भनेको सातै देशको प्रतिस्पर्धा हो, हाम्रो लागि मिनी ओलम्पिकजस्तै । सबै देशको सहभागीता भएको खण्डमा मेडल जित्दाको गौरव बेग्लै हुन्छ ।’
सबै देशका खेलाडीहरु राम्रो भएको भन्दै विष्टले कसैलाई पनि कमजोर नआँक्ने प्रष्ट पारे । यद्यपि यसपटक तेक्वान्दोमा नेपालले राम्रो तयारी गरेको र राम्रो नतिजाको पर्खाइमा रहेको उनी बताउँछन् । ‘यसपालि राम्रो रिजल्ट ल्याउने आशा गरेका छौं । मुख्य कुरा खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । हामीले आफ्नो तर्फबाट कुनै कसर छोडेका छैनौं,’ उनले भने ।
सागकै लागि भनेर नेपालले चीन र मलेसियाका तेक्वान्दो प्रशिक्षक झिकाएको थियो भने प्रतियोगिताहरु पनि खेलाएको थियो । त्यसबाट पनि खेलाडीहरुको आत्मबल बढेको छ ।