प्रधानमन्त्रीको सरप्राइज प्याकेज : टिम इभेन्टका पदक विजेता निराश
(काठमाडौं) १३ औं दक्षिण एसियाली खेलकुद (साग) समापन भएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तो मान्न बालुवाटार पुगेका पदक विजेता खेलाडीहरुको साझा चासो थियो, ‘सरप्राइज प्याकेज’ कस्तो होला ?
बालुवाटारको सभाहल पदक विजेता खेलाडीले भरिएको थियो । कतिपय त अटाएनन् पनि ।
खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई मञ्चमा दायाँबायाँ राखेर प्रधानमन्त्रीले सम्बोधन सुरु गरे । उनले कांस्य जित्नेले ३ लाख, रजत जित्नेले ६ लाख र स्वर्ण जित्नेले ९ लाख रुपैयाँ पाउने सुनाए । एकभन्दा बढी स्वर्ण जित्नले ११ लाख रुपैयाँ पाउने बताए । त्यसपछि टिम इभेन्टमा स्वर्ण जित्नेले पाउने रकम तोके । जस्तो फुटबल, भलिबल आदि टिममा खेलिने छन् नि भन्दै उनले टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने बताए ।
प्रधानमन्त्री ओलीले एकपछि अर्को पुरस्कार रकम घोषणा गर्दा खेलाडीहरु निकै खुसी देखिन्थे । उनीहरुले समर्थनमा हुटिङ गर्दै जोडजोडले ताली बजाए । खेलाडीहरु खुसी हुनु यो स्वाभाविक पनि हो, किनकी नेपाली खेलकुदमा राज्यको तर्फबाट घोषणा भएको यो नै अहिलेसम्मको सर्वाधिक नगद पुरस्कार हो ।
तर ठूलै उत्साह बोकेर बालुवाटार पुगेका टिम इभेन्टमा रजत र कास्य पदक जितेका खेलाडी भने निराश बने । ‘टिम इभेन्टमा स्वर्ण जित्नेको पुरस्कार घोषणा भयो, तर हाम्रा लागि केही भएन’ बास्केटबल पुरुष टिमका कप्तान सदिश प्रधानले गुनासो राखे, ‘हामीले चारवटै इभेन्टमा पदक जितेका थियौं । केही घोषणा होला भनेर आश गरेका थियौ तर केही भएन ।’ उनले व्यक्तिगत र टिम इभेन्टमा खेल्ने खेलाडीमा फरक छुट्याएकोमा पनि निराशा व्यक्त गरे । ‘इभेन्टमा कुनै एक जनाले खेल्न पाएन भने बेन्चमा पनि बस्नुपर्छ । टिममा पर्न धेरै महिनेत गरेका हुन्छौं । तर खेलकुदमा लागेको व्यक्तिले एथ्लेटका विषयमा सोच्न सक्दैन भने के भन्ने ?’ सदिशले प्रश्न गरे ।
यस्तै ऐतिहासिक रजत जितेको महिला भलिबल टिमकी सदस्य सरस्वती चौधरीले पनि रजत र कांस्य जित्ने टिमको पुरस्कार घोषणा नभएको खल्लो लागेको बताइन् । उनले भनिन्, रजत र कांस्य जित्ने टिमले पाउने रकम पनि तोकिदिएको भए हुन्थ्यो ।’
बास्केटबल र भलिबल मात्र होइन, टिम इभेन्टमा स्वर्ण पदक जितेको पुरुष फुटबल टिमका खेलाडी पनि सन्तुष्ट छैनन् । ‘हामीले राष्ट्रका लागि खेलेका हौं, पैसाको लागि खेलेको होइन । तर टिम इभेन्टले स्वर्ण जित्दा कम रकम पाउने सुनेर दुःख त लागेको छ,’ यू–२३ टिमका कप्तान सुजल श्रेष्ठ भन्छन् । घोषित पुरस्कारअनुसार फुटबल टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगततर्फ स्वर्ण जित्दा पाउने पुरस्कार ४ लाख रुपैयाँ बढ्दा फुटबलमा बढेन । १२ औं सागमा स्वर्ण जित्दा पनि फुटबल खेलाडीले ५-५ लाख रुपैयाँ नै पाएका थिए ।
व्यक्तिगततर्फ स्वर्ण जितेका खेलाडीहरु भने प्रधाननमन्त्रीको सरप्राइज प्याकेजबाट घोषणाबाट सरप्राइज नै भए । तेक्वान्दोमा व्यक्तिगत र टिम पुम्सेमा स्वर्ण जितेकी आयशा शाक्यले पुरस्कार घोषणाबाट खुशी लागेको बताइन् । ‘सागमा सरप्राइज रिजल्ट आएजस्तै पुरस्कार घोषणा पनि सरप्राइजकै रुपमा आएको छ’ आयशाले भनिन्, ‘यसले खेलाडीहरुलाई उत्साहित बनाएको छ ।’
कराँतेकी स्वर्ण विजेता अनु अधिकारीले पनि आफूहरुले सोचेभन्दा बढी पुरस्कार घोषणा भएको प्रतिक्रिया दिएकी छन् । ‘मैले स्वर्णको ६/७ लाख रुपैयाँ अपेक्षा गरेको थिएँ’ उनले भनिन्, ‘९ लाख पाउने घोषणा भयो । हामी खुशी छौं ।’
तर उनीहरुले अरुको पुरस्कार घोषणा हुँदा पनि टिम इभेन्टतर्फ रजत र कास्य जित्नेहरुले पाउने रकम पनि तोकिदिएको भए राम्रो हुने प्रतिक्रिया दिए ।