भद्रगोलबीच ‘गोल’
(काठमाडौं) आयोजक नेपाललाई ऐतिहासिक ५१ स्वर्ण पदक दिलाउँदै दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण मंगलबार सम्पन्न भएको छ । एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना र यसमा स्वदेशी खेलाडीहरुले प्राप्त गरेको अभूतपूर्व उपलब्धी दुबै भएको छ ।
आफ्नै भूमिमा आयोजित खेल मेलाका क्रममा नेपालले ‘अन द फिल्ड’ जति गर्व गर्नलायक प्रदर्शन ग¥यो, ‘अफ द फिल्ड’ पनि ठूलो आलोचनाको मौका दिएन । दुई सातासम्म करिव ५ हजार विदेशी पाहुनाको सुरक्षा-व्यवस्थापन र भब्य उद्घाटन तथा समापन समारोह आयोजना त्यति सजिलो थिएन ।
दुईपटक मिति सारिसकिएको साग तेस्रोपटक घोषित मितिमा सम्पन्न हुन सक्नेमा अन्योल थियो । नियमित कार्यतालिका अनुसार १३ औं साग सन् २०१८ मै नेपालले आयोजना गर्नुपर्नेमा भूकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा सम्भव भएन र २०१९ को मार्चमा गर्न मिति तोकियो ।
तर, सो मितिमा पनि सम्भव नभएपछि १–१० डिसेम्बरका लागि सारिएको थियो । यो मितिमा पनि साग हुन नसक्ने आधारहरु प्रशस्त थिए । अन्तिम समयसम्म पनि पूर्वाधारहरु लठिबज्र अवस्थामा थिए । व्यवस्थापकीय तयारी पनि सुस्त थियो । अभ्यासमा जुटिरहेका खेलाडी नै साग हुनेमा अन्तिम समयसम्म विश्वस्त थिएनन् । पूर्वाधारतर्फ तीनवटा प्रमुख चिन्ता थिए । एउटा दशरथ रंगशाला, दोस्रो पोखरा रंगशाला र तेस्रो सातदोबाटो पौडी पोखरी । उद्घाटनको दुई दिनअघिसम्म दशरथ रंगशालाको प्याराफिटमा छानो हालिएको थिएन । तीन दिन अगाडिसम्म पौडी पोखरीमा पानी थिएन । पोखरा रंगशालाको अवस्था उस्तै थियो । यस्तोमा धेरैले आशंका गरेका थिए, कतै सागले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गराउने होइन ?
तर ‘नेपाली शैली’ अनुसार अन्तिम समयमा जिम्मेवार व्यक्ति र निकायहरुले जुझारुपन देखाए । हतार–हतार काम भयो । भाग्यले पनि साथ दियो भनौं, हतारको काम लतरपतर भएन ।
७२ सालको भूकम्पले भत्काएका दशरथ रंगशाला र पोखरा रंगशालाको पुनर्निर्माण चित्तबुझ्दो भएको छ । खेलकुदमन्त्री जगत विश्वकर्मा आफैं दशरथ रंगशालामा अहोरात्र खटिएका थिए । झण्डै मन्त्री पद गुमाएका विश्वकर्मालाई सम्भवतः यही खटाईले जोगायो । र, सागको आयोजना पश्चात उनले यसको यथोचित जस पाउने नै छन् ।
यसैगरी, पौडीपोखरी पनि अन्तर्राष्ट्रियस्तरको बनेको छ । नेपालकी कीर्तिमानी पौडिवाज गौरिका सिंहले यो पौडी पोखरी आफूले बेलायतकै स्तरको पाएको भन्दै प्रशंसा गरेकी छन् । यसअघि नेपालमा हिटिङ सिस्टमसहितको पौडी पोखरी नै थिएन ।
नेपालले सागमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउनु अर्को सन्तोषको विषय हो । हुन त यो सफलताको प्रमुख श्रेय खेलाडीलाई जान्छ । तर, राष्ट्रिय खेलाडीहरुको अभिभावक अन्ततः राज्य नै हो । सरकार नै हो । पदक तालिकामा नेपालको कमजोर प्रस्तुति रहेको भए त्यतिबेला सरकारमाथि नै प्रश्न उठ्थ्यो । सरकारले खेलाडीको तयारी राम्रो नगराएर उनीहरुले खेल्न नसकेको आरोप लाग्थ्यो नै । त्यसो हुँदा यो सफलतामा थोरै भए पनि जस सरकार र राष्ट्रिय खेलकुद परिषदलाई दिँदा फरक पर्दैन ।
तथापि सुटिङ खेलाडीले विपक्षीसँग बन्दुक मागेर खेल्नुपरेको, साइक्लिङ खेलाडीले थोत्रो साइकल गुडाउनुपरेको जस्ता केही लाजमर्दा घटनाहरु नभएका होइनन् । तर, तीनलाई अपवाद मानेर आगामी दिनमा यस्तो गल्ति नहुने गरी सचेत गराउन सकिन्छ ।सागमा पदक जित्ने खेलाडीलाई सरकारले औपचारिकरुपमा पुरस्कार घोषणा गरिसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेताहरुलाई भोलि बालुवाटारमा निम्तो दिएका छन् । सम्भवत उनले पुरस्कार राशी घोषणा गर्न सक्छन् ।
सीमित स्रोत साधनमा खेलेर देशलाई पदक दिलाउने खेलाडी पुरस्कारको हकदार हुन् नै । तर एकपटक नगद पुरस्कार दिएर सरकारले आफ्नो कर्तव्य निभाएको भ्रम चाहिँ पाल्नु हुँदैन ।
मूल कुरा भनेको खेलाडीहरुको भविष्यको सुनिश्चितता हो । उनीहरुलाई अरु केही नसोची आफ्नो खेलमा लागिरहने वातावरण प्रदान गर्नु हो । त्यसका लागि धेरै काम गर्नुपर्ने छ ।
समापन समारोहमा सदस्य सचिव सिलवालले अब आफूहरु ओलम्पिक र एसियाडको तयारीमा जुटिहाल्ने बताएका छन् । यदि राम्रो तयारी र उचित हौसला पाएमा नेपाली खेलाडी कोहीभन्दा कम छैनन् भन्ने यो सागमा प्रमाणित भएको छ । यो सफलता पानीको फोकाजस्तो बन्नु हुँदैन । आगामी सागमा योभन्दा तल होइन माथि उठ्ने गरी नेपाली खेलाडीको तयारी हुनुपर्छ ।
गौरिका सिंहसहितका खेलाडीहरुलाई सन् २०२० को ओलम्पिकमा पदक जित्न सक्ने गरी तयार पार्ने दायित्व राज्यको हो ।