विद्यार्थीकाे चितवन मेडिकल कलेजले पूर्वसहमति कार्यान्वयन नगरी लापरबाही गरेकाे आरोप
(भरतपुर) चितवन मेडिकल कलेजले पूर्वसहमति कार्यान्वयन नगरी लापरबाही गरेकाे विद्यार्थीहरूले आरोप लगाएका छन् । सोमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै अन्दोलनरत विद्यार्थीहरूले सहमति कार्यान्वयन नभएसम्म संर्घष जारी राख्ने बताएका छन् । गत असोज ४ गते जिल्ला प्रशासन कार्यालय, चितवन मेडिकल कलेज र विद्यार्थीहरुबीच अतिरिक्त शूल्क फिर्ता गर्ने सहमति भएको थियो । कात्तिक १८ गते अतिरिक्त शूल्क फिर्ता वा समायोजन गर्ने सहमति भए पनि कलेजले यसमा कुनै चासो नदिएको विद्यार्थीहरूले बताएका छन् ।
चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले सिएमसीले ८ वटा संकायमा पढ्ने विद्यार्थीहरूबाट रु ५६ करोड अतिरिक्त शुल्क असुल गरेको जानकारी दिए । उनले कलेजले एमबिबिएसका प्रथम र द्वितीय वर्ष पढ्ने विद्यार्थीको रु २२ करोड समायोजन गर्ने भने पनि सम्पूर्ण वर्ष र शंकायका विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए । असोज ४ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा चिकित्सा शास्त्र संस्थानले तोकेभन्दा बढी असुली भएको रकमको विषयमा प्रतिवेदन कात्तिक १० गतेभित्र तयार पार्ने सहमति भए पनि आजसम्म पनि तयार भएको छैन । प्रतिवेदन समितिका संयोजक टेकप्रसाद चापागाईँले चितवन मेडिकल कलेज ले विभिन्न बहाना बनाएर प्रतिवेदन तयार गर्न आवश्यक तथ्याङ्क दिन आनाकानी गरेको जानकारी दिए ।
चापागाईँले दसैँ तिहारमा प्रशासन बन्द भएको भन्दै अहिलेसम्म प्रतिवेदन तयार पार्न कलेजले असहयोग गरेको बताए । उनले एमबिबिएस प्रथम र द्वितीय तहका विद्यार्थीको सालाखाला रु २२ करोड रकम फिर्ता गर्नुपर्ने देखिएको बताए । यसैबिच नेपालका मेडिकल कलेजहरूले विद्यार्थीहरूबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दबाब दिने उद्देश्यले कात्तिक १९, २० र २१ गते काठमाडौँमा बृहत् ¥यालीको आयोजना गरिएको छ । संर्घष समितिका प्रवक्ता नरेश भट्टले ¥यालीमा देशभरका मेडिकल कलेजका विद्यार्थीहरूको उपस्थित हुने जानकारी दिए ।