भारतसँग बदला लिने मौका : सागमा महिला फुटबल
(पोखरा) पछिल्ला वर्षहरुमा नेपाली महिला फुटबलले आशावादी बनाएको छ ।
प्रतियोगिताहरुको संख्या मात्र बढेको छैन, प्रदर्शन पनि सुधारिएको छ । त्यसकै प्रमाण हो, हिरो कप महिला फुटबलमा भारतलाई पन्छाउँदै फाइनलसम्मको यात्रा । नेपाली फुटबलरहरुले अन्तराष्ट्रिय लिगमा पनि अवसर पाउन थालेका छन् । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले भारतको हिरो लिग मात्र खेलेनन्, सेथु क्लबलाई च्याम्पियन पनि बनाए ।
साम्बा दक्षिण एसियाकै उत्कृष्ट खेलाडी मानिन्छिन् ।
तर नेपाली महिला फुटबलरहरुको अधुरो सपना छ, दक्षिण एसियाली च्याम्पियन बन्ने ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) र दक्षिण एसियाली खेलकुद साग दुबैमा नेपाली महिला टिमले उपाधि जितेको छैन ।
चैतमा विराटनगरमा भएको साफ फुटबलमा पनि नेपालका लागि भारत नै बाधक बन्यो । फाइनलमा नेपाल ३-१ ले पराजित हुँदै उपविजेतामा चित्त बुझायो ।
अब १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालसामू अर्को अवसर छ, भारतसँग बदला लिँदै स्वर्ण जित्ने ।
महिलातर्फ यो पटक चार देशले मात्र भाग लिएका कारण नेपाल, माल्दिभ्स, भारत र श्रीलंकाले एकअर्कासँग खेल्नेछन् र शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार र नेपालको पहिलो खेल मंसिर १७ गते श्रीलंकाविरुद्ध हुनेछ ।
नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने होइन । सागको अघिल्लो संस्करणमा भारतको गुवाहाटीमा भएको खेलमा श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसअघिका संस्करणमा पनि श्रीलंकामाथि नेपाल हावी थियो ।
श्रीलंकापछि नेपाल मंसिर १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । र, प्रतियोगिताको फाइनाल २३ गते हुनेछ ।