प्रदेश २ मा भएको बाढीपहिरोको क्षतिबारे मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाण्डौ १२ श्रावण । मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट प्रदेश २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।२७ असारमा आएको भीषण बाढीबाट प्रदेश २ मा भएको क्षतिबारे सम्बन्धित पक्षलाई जानकारी गराउनुका साथै सहयोग जुटाउने उद्देश्यले काठमाडौं पुगेको मुख्यमन्त्री राउतसहितको सर्वदलीय टोलीले आज प्रधानमन्त्री ओलीसँग भेट गरेको हो ।
धानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेश २ मा सार्वजनिक र निजी गरी अर्बौं रुपैयाँ बराबरको क्षति भएको, ३७ जनाभन्दा बढीको मृत्यु भएको तथा हजारौं परिवार घरबारविहीन भएको जानकारी गराए ।बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुताभन्दा बाहिर रहेको उल्लेख गर्दै उनले विस्थापितको पुनर्वास र पुनर्निर्माणका लागि संघीय सरकारलाई सहयोग गर्न आग्रहसमेत गरे ।
भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमाथि विशेष जोड दिएका थिए ।जवाफमा प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफूले बाढीप्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।भेटमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसमेतको उपस्थिति थियो भने प्रदेश २ को सर्बदलीय टोलीमा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायत सहभागी थिए ।shilaptr