चिया निर्यात समस्या समाधानका लागि कूटनीतिक पहल जारी : मन्त्री गौरी कुमारी
काठमाडौं, असार ३ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक माध्यमबाट पहल गरिरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइन्।
उनले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण समस्या समाधान गर्न र बजार पहुँच विस्तार गर्न उद्यमी–व्यवसायीसँग लागत साझेदारीमा वेयरहाउस निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको बताइन्।
मन्त्री कुमारीका अनुसार नेपाल आयल निगममार्फत सिलिगुढी–चारआली र अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढिरहेको छ। साथै, सर्लाहीमा पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको छ।
उनले पेट्रोलियम पदार्थको भण्डारण क्षमता कुल मागको तीन महिनासम्म धान्न सक्ने गरी विस्तार गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको उल्लेख गरिन्।
मन्त्री कुमारीले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवर्द्धनका लागि स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय संवर्द्धन सेवा तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्। राष्ट्रिय उद्यम सेवा कार्यक्रममार्फत स्वदेशी उत्पादन वृद्धि तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिइने उनको भनाइ छ।
त्यसैगरी, निर्माण प्रगतिका आधारमा औद्योगिक ग्रामहरूलाई कानुनबमोजिम मन्त्रालयबाट बजेट निकासा गरिने मन्त्री कुमारीले स्पष्ट पारिन्।