चीनले शिक्षामा एआई विस्तार गर्न विश्वव्यापी डिजिटल शिक्षा प्लेटफर्म सुरु गर्यो
हाङझाउ, चीन — चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच र प्रभाव विस्तार गर्ने उद्देश्यसहित नयाँ विश्वव्यापी डिजिटल शिक्षा प्लेटफर्म सुरु गरेको छ।
पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हाङझाउमा जारी ‘२०२६ विश्व डिजिटल शिक्षा सम्मेलन’ का क्रममा मंगलबार उक्त प्लेटफर्मको औपचारिक घोषणा गरिएको हो।
उच्च गुणस्तरीय शैक्षिक स्रोतलाई विश्वभर साझा गर्ने तथा शिक्षामा एआईको भूमिका थप सशक्त बनाउने लक्ष्यसहित यो पहल अघि सारिएको हो। यो सेवा चीनको डिजिटल शिक्षा प्लेटफर्म ‘स्मार्ट एजुकेसन अफ चाइना’ को विस्तारित रूप रहेको बताइएको छ, जुन हाल करिब २२० देश र क्षेत्रमा उपलब्ध छ।
नविकरण गरिएको प्लेटफर्ममा ‘लाइफलङ लर्निङ हब’ तथा चिनियाँ भाषा सिक्ने समुदायजस्ता नयाँ सुविधा थप गरिएको छ, जसले अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई लक्षित गरी सेवा विस्तार गरेको छ।
मे ११ देखि १३ सम्म चल्ने सम्मेलनमा स्मार्ट शिक्षासम्बन्धी चीनका नीतिगत कदम र नवीन अभ्यासबारे प्रतिवेदन पनि सार्वजनिक गरिएको छ।
त्यसैगरी, सम्मेलनमा ‘इनिसिएटिभ अन एआई एजुकेसन’ पनि सार्वजनिक गरिएको छ, जसले मानव विकासलाई दिगो बनाउन एआईको जिम्मेवार प्रयोगमा जोड दिएको छ। साथै, डिजिटल विभेद घटाउन गुणस्तरीय शैक्षिक स्रोत र डिजिटल उपकरण साझा गर्नुपर्ने आह्वान समेत गरिएको छ।