संयुक्त राष्ट्रसंघमा नेपालद्वारा बुद्धका शिक्षालाई विश्व शान्तिको आधार बनाउन आग्रह
काठमाडौं — संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित बुद्धजयन्ती कार्यक्रममार्फत नेपालले भगवान् गौतम बुद्धका शिक्षालाई विश्व शान्ति र सहकार्यको मार्गका रूपमा व्यवहारमा उतार्न आग्रह गरेको छ।
सोमबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका रूपमा थप विकास गर्नुपर्नेमा जोड दिएका छन्।
श्रीलङ्का र थाइल्यान्डका स्थायी नियोगद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा राजदूत थापाले लुम्बिनीलाई विश्व शान्ति, आध्यात्मिक पुनर्जागरण र साझा मानवीय मूल्यहरूको प्रतीकका रूपमा अघि बढाउनुपर्ने बताए।
उनले बुद्धका करुणा, अहिंसा, सचेतना, एकता र ज्ञानसम्बन्धी कालजयी शिक्षाहरू वर्तमान विश्वमा अझ सान्दर्भिक भएको उल्लेख गरे। उनका अनुसार द्वन्द्व, विभाजन, असमानता तथा जलवायु परिवर्तनजस्ता चुनौतीहरूले ग्रस्त विश्वमा बुद्धका शिक्षाले मार्गदर्शन गर्न सक्छन्।
राजदूत थापाले ‘वेसाक’ केवल धार्मिक उत्सव मात्र नभई विश्व शान्ति, सद्भाव र मानवताको हितका लागि न्यायपूर्ण तथा दिगो भविष्य निर्माण गर्ने सामूहिक आह्वान भएको धारणा समेत व्यक्त गरे।