मानव बेचबिखनको आरोपमा पुतलीबजारका वडाध्यक्ष थापा पक्राउ
मानव बेचबिखन तथा ओसारपसारको गम्भीर आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शिव बहादुर थापालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । थापामाथि पीडितलाई अमेरिका पठाउने प्रलोभन देखाई ठूलो रकम ठगी गरेको, शारीरिक तथा मानसिक यातना दिएको र अमेरिका जानेक्रममा बाटोमा दलाल समूहले जबरजस्ती करणी गरेको आरोप लागेको छ।
ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, पीडित (परिवर्तित नाम २६ बबरमहल) लाई प्रतिवादी थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत दुबईबाट अमेरिका पठाउने काम गर्ने भन्दै चिनजान गरेका थिए । उनले पीडितलाई अमेरिका पठाउन ६० लाख नेपाली रुपैयाँ लाग्ने विश्वास दिलाएका थिए ।
थापाको प्रलोभनमा परेकी पीडितलाई २०७८ वैशाख ११ गते (२४ अप्रिल २०२१) मा पीडितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको ‘ग्रान्ड नोभा’ होटलमा पुर्याई करिब एक महिनासम्म राखिएको थियो । अमेरिकाको भिसा प्रक्रियाका लागि भन्दै दुबईमा बस्ने एजेन्टमार्फत पीडितबाट ८ लाख नेपाली रुपैयाँ (३५ हजार दिराम) नगद र पीडितको राहदानी तथा फोटो लिएर भिजिट भिसा तयार पारिएको उजुरीमा उल्लेख छ ।
त्यसपछि पीडितलाई दुबईबाट हवाई मार्ग हुँदै बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया पुर्याइएको थियो । कोलम्बियामा करिब एक वर्षसम्म अमेरिका लैजाने आश्वासन दिई विभिन्न किसिमका शारीरिक तथा मानसिक यातना दिँदै बन्धक बनाई राखिएको थियो । यस अवधिमा पीडितमाथि जबरजस्ती करणीसमेत भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पीडितले नेपाल फर्कनका लागि प्रतिवादी थापालाई सम्पर्क गर्दा उनले थप रकम बुझाउनुपर्ने भन्दै दबाब दिएका थिए । पीडितले अमेरिकामा बस्ने साथीमार्फत थापाले उपलब्ध गराएको विभिन्न विदेशी तथा नेपाली नागरिकको विदेशी बैंक खाता र वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत पटकपटक ९८ हजार ९ सय अमेरिकी डलर (करिब १ करोड ४२ लाख नेपाली रुपैयाँ) पठाएका थिए।
रकम प्राप्त भएपछि थापाका एजेन्टहरूले पीडितलाई कोलम्बियाबाट पानामाको जंगलको बाटो हुँदै मेक्सिकोको पूर्वी तापाचुला बोर्डरमा पुर्याएका थिए । त्यहाँ पुगेपछि नेपाल फर्कनका लागि थप २० हजार अमेरिकी डलर माग गरिएको थियो । पीडितले रकम दिन नसकेपछि उनलाई मेक्सिकोमै अलपत्र छाडिएको र एजेन्टहरू सम्पर्कविहीन भएका थिए।
अमेरिकामा बस्ने आफन्तसँगको समन्वय र अमेरिकास्थित नेपाली राजदूतावासको सहयोगमा पीडितलाई ‘वन वे ट्राभल डकुमेन्ट’ बनाई २०८३ वैशाख २ गते (१५ अप्रिल २०२६) नेपाल फर्काइएको थियो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न थापालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नम्बर १७ बाट २०८३ वैशाख २८ गते पक्राउ गरेको हो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका थापा स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नम्बर ४ का वर्तमान वडाध्यक्ष रहेको खुल्न आएको छ ।