स्वास्थ्य क्षेत्रमा नेपाल–भारत सहकार्य विस्तारबारे मन्त्री मेहता र राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव बीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–भारतबीच सदियौंदेखि रहिआएको ऐतिहासिक र प्रगाढ सम्बन्धसँगै स्वास्थ्य क्षेत्रका विविध द्विपक्षीय सहकार्यका विषयमा विस्तृत छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। त्यसैगरी मन्त्री मेहताले नेपालका स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार प्रकट गरेकी थिइन्।
दुवै पक्षबीच राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको विकास तथा स्वास्थ्य पूर्वाधार विस्तारमा आगामी दिनमा सहकार्य थप मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।
यस भेटलाई दुई देशबीचको स्वास्थ्य कूटनीति र विकास सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।