दाउन्नेमा एकतर्फी ढलान सम्पन्न, दुई सातापछि सहज यात्रा हुने
नारायणगढ — नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्ने क्षेत्रमा एकतर्फी सडक ढलानको काम सम्पन्न भएको छ। आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार करिब चार किलोमिटर क्षेत्रमा एकतर्फी रूपमा ढलान कार्य पूरा गरिएको हो।
ढलानको काम सकिएसँगै अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाट सवारी सञ्चालन हुने भएको छ। विगतमा दाउन्ने क्षेत्रमा ढलान कार्य नसकिँदा सामान्य वर्षा हुँदा समेत सवारी जामको समस्या हुने गरेको थियो। अब भने चौध दिनपछि यस क्षेत्रमा पक्की सडकमार्फत सहज रूपमा यात्रा गर्न सकिने जानकारी दिइएको छ।
सूचना अधिकारी खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलान सम्पन्न भएसँगै पूर्वी खण्डका सम्पूर्ण ६५ किलोमिटर सडक कालोपत्र तथा पक्की सडकले जोडिएको छ। “अबको दुई सातापछि पूर्वी खण्डका सबै क्षेत्रमा सहज रूपमा यात्रा गर्न सकिन्छ,” उनले बताए।
यद्यपि, दाउन्नेको पश्चिम खण्डमा भने अझै पूर्ण रूपमा ढलान कार्य सम्पन्न भइसकेको छैन।
यो सडक विस्तार योजना २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन ले काम सुरु गरेको थियो। तर निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको छ, र हाल चौथो पटकको थपिएको समयसीमाभित्र काम अघि बढिरहेको छ।
कुल ११३ किलोमिटर लम्बाइको यस सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन भइरहेको यस आयोजनाको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ।
सात वर्षअघि सुरु भएको यस आयोजनामा अहिले पूर्वी खण्डमा उल्लेखनीय प्रगति देखिएको छ, जसले यात्रुलाई क्रमशः सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।