प्रहरी निरीक्षक सागर साह सर्वोत्कृष्ट प्रहरी घाेषित
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साह सर्वोत्कृष्ट प्रहरी भएका छन् ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य कुशलतापूर्वक निर्वाह गरेकाे भन्दै साहलाई सर्वोत्कृष्ट प्रहरी घाेषित गरिएकाे हाे ।
विभिन्न मितिमा फैसला कार्यन्वयन अन्तर्गत उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न ड्रोन क्यामेराको माध्यमबाट अपराधको रोकथाम र अनुसन्धान गर्ने कार्य प्रभावकारी रुपमा सम्पादन गरेपछि प्रहरी निरीक्षक साह सर्वोत्कृष्ट प्रहरी घाेषित भएका हुन् ।
साथै उनले नागरिक सहायता कक्षमा डिस्पले बोर्ड जडान गरी सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने कार्य गरेको, सञ्चार शाखाको निर्माण कार्य गरेको, हिरासत कक्षमा पुस्तकालय स्थापना गरी उल्लेखनिय रुपमा नवप्रवर्धनात्मक कार्यहरुलाई बढावा दिई नागरिक र प्रहरीबिचको सम्बन्ध प्रगाढ बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । प्रहरी निरीक्षक साहबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै गत वैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।