जाहेरी दर्ता नगरेको भन्दै सांसद रिमा विश्वकर्माको सरकारप्रति आलोचना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले पीडितको किटानी जाहेरी समेत दर्ता नगरेर सरकारले नागरिकलाई न्यायबाट वञ्चित गरेको आरोप लगाएकी छन्।
सिन्धुलीमा घटेको एक घटनासँग सम्बन्धित विषय उठाउँदै उनले प्रहरी र सरकारी वकिलको कार्यालयले पीडित परिवारको जाहेरी लिन अस्वीकार गरेकोप्रति आपत्ति जनाएकी हुन्। सांसद विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, “पीडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा सिन्धुली प्रहरी र सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेछ, जाहेरी समेत दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?”
उनका अनुसार कानुनी उपचारको पहिलो आधार नै जाहेरी दर्ता भए पनि राज्यका निकायबाटै अवरोध हुँदा नागरिकको राज्यप्रतिको भरोसा कमजोर हुँदै गएको छ। उनले दोषीलाई कुनै पनि प्रकारको राजनीतिक वा अन्य दबाबका आधारमा संरक्षण नगर्न र तत्काल जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
यसैबीच, प्रहरी हिरासतमा हत्या गरिएको भनिएको सिन्धुलीका दलित युवा श्रीकृष्ण विकको परिवारले दिएको जाहेरी दर्ता नभएको विषयलाई लिएर उनले विशेष रूपमा आपत्ति जनाएकी हुन्।