महत्वपूर्ण उखु अभावले एभरेष्ट चिनी उद्योगको क्रसिङ लक्ष्य अधूरो
गौशाला, महोत्तरी । चालु आर्थिक वर्ष २०८२/८३ को याममा एभरेष्ट चिनी उद्योग ले उखु अभावका कारण आफ्नो क्रसिङ लक्ष्य पूरा गर्न सकेको छैन। उद्योगले ८९ दिनमा २८ लाख ५३ हजार १७८ क्विन्टल मात्र क्रसिङ गरेको छ, जबकि यस यामको लक्ष्य ३१ लाख क्विन्टल थियो।
उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला का अनुसार “उखु पर्याप्त नपाइँदा क्रसिङ पटक–पटक रोक्दै चलाउनुपर्यो। यो कारणले लक्ष्य हासिल गर्न सकेनौं।” क्रसिङ गत पुस ७ गते सुरु भई गत बिहीबारसम्म सञ्चालन भएको थियो।
उद्योगले पछिल्ला तीन–चार वर्षयता भुक्तानी प्रक्रिया सरल बनाए पनि उखुखेती बढ्न सकेको छैन। एक दशकअघि १५ हजार बिघामाथि फैलिएको उखुखेती चार वर्षअघि पाँच–छ हजार बिघामा झरेको थियो। हाल करिब ९ हजार बिघामा उखुखेती हुने गरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरी का अध्यक्ष नरेशसिंह कुशवाहा ले जानकारी दिए।
कुशवाहाका अनुसार मूल्य निर्धारण र अनुदान अभावका कारण किसानमा उत्साह कमजोर रहेको छ। यस याम किसानले प्रतिक्विन्टल ७५० रुपैयाँ माग गरेको भए पनि सरकारले ६२० रुपैयाँ मूल्य र ७० रुपैयाँ अनुदान गरी ६९० रुपैयाँ कायम गरेको छ।
उद्योगले तौल भइसकेको उखुको भुक्तानी दुई साताभित्र दिने गरेको जनाएको छ। महाप्रबन्धक शुक्लाका अनुसार फागुन २६ सम्म तौल भएका २६ लाख ३२ हजार क्विन्टल उखुको एक अर्ब ६२ करोड रुपैयाँ भुक्तानी एक हजार १७४ किसानका बैंक खातामा भइसकेको छ। बाँकी भुक्तानी केही दिनभित्रै सम्पन्न गरिने उद्योगले जनाएको छ।