नेपालगन्ज भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम, ८ महिनामा ५२% मात्र असुली
नेपालगन्ज — नेपालगन्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालु आवका लागि निर्धारण गरिएको २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार लक्ष्यमध्ये फागुन मसान्तसम्म १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् ५१.९७ प्रतिशत मात्र असुली भएको हो।
लक्ष्य पूरा गर्न अब बाँकी चार महिनामा झण्डै ४८ प्रतिशत राजस्व उठाउनुपर्ने चुनौती रहेको उनले बताए। मासिक लक्ष्यअनुसार भने हालसम्म कुनै पनि महिनामा लक्ष्य हासिल हुन सकेको छैन।
साउनदेखि माघसम्मको अवधिमा क्रमशः ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको देखिएको छ। फागुन महिनामा भने लक्ष्यको करिब ८८ प्रतिशत राजस्व उठाइएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा सो कार्यालयले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८०–८१ मा ६३.३५ प्रतिशत मात्रै असुली भएको थियो।
नेपाल–भारत सीमा नाकामा रहेको जमुनाहा नाका मा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई राजस्व बढ्ने अपेक्षा गरिए पनि पछिल्ला वर्षहरूमा लक्ष्यअनुसार असुली हुन सकेको छैन।
भन्सार कार्यालयका अनुसार आयात–निर्यात गतिविधि अपेक्षाअनुसार नबढ्नु र आर्थिक गतिविधिमा सुस्तता आउनु राजस्व लक्ष्य पूरा नहुनुको प्रमुख कारणका रूपमा देखिएको छ।