धनगढी यातायात कार्यालयले ४८ करोड राजस्व संकलन गर्यो
धनगढी । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म ४८ करोड १९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालय प्रमुख भुवन जोशीका अनुसार सबैभन्दा बढी राजस्व सवारीसाधन करबाट ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक दर्ता दस्तुरबाट १२ लाख रुपैयाँ संकलन भएको छ।
त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताब दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट ९ करोड ३५ लाख ८२ हजार र यातायात क्षेत्रको अन्य आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट ८८ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
गत आर्थिक वर्ष २०८१-८२ मा यस कार्यालयले ७५ करोड ५६ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने बेरुजु रकम शून्य रहेको तथ्यांकले देखाएको छ।