आलोचना खेप्न तयार छौँ, हामी अचानो होइनौँ : प्रधानमन्त्री कार्की
७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारमाथि भइरहेको चौतर्फी आलोचना खेप्न आफूहरू तयार रहेको बताएकी छिन्।
सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेन–जीदेखि राजनीतिक दलसम्मबाट सरकारमाथि आक्षेप आइरहेको उल्लेख गरिन्। विगतका त्रुटि र कमजोरीका कारण गत भदौ २३ र २४ गतेका घटनाहरू भएको र त्यसको आवेग अहिले सरकारले सहिरहेको उनको भनाइ थियो।
मुलुकको हितका लागि आइरहेका सबै किसिमका आलोचना र आक्षेप सहन सरकार तयार रहेको उनले स्पष्ट पारिन्। ‘हामी अचानो होइनौँ। भएका गल्तीको परिणाम हामीले भोगिरहेका छौँ, तर देशको निम्ति त्यो सहन तयार छौँ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलभन्दा जनता सर्वोपरि हुने उल्लेख गर्दै दलहरू जनताको सेवा गर्न बनेको संस्था भएको बताइन्। दलहरूबीचको असमझदारीको नकारात्मक असर जनतामाथि पर्न नहुने उनको धारणा थियो।
भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाले जनमानसमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले सरकार जनताको भावना अनुसार अघि बढ्न प्रतिबद्ध रहेको बताइन्। साथै, जेन–जीको रगतमा ऐस–आराम गर्न सरकार नआएको भन्दै जनताको विश्वास जित्न आफूहरू गम्भीर रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।